पार्टीको आधिकारिकताका लागि एक रुपैयाँ पनि आर्थिक लेनदेन गरेको छैन : गगन थापा

काठमाडौं,१९ कार्तिक । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो नाम जोडेर आर्थिक लेनदेन र अनुचित गतिविधिमा संलग्न रहेको भन्दै प्रायोजित हल्ला फैलाइएको कांग्रेस सभापति गगन थापाले आरोप लगाएका छन्। उनले आफूले एक रुपैयाँ पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम नगरेको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सार्वजनिक भएको भनिएको अडियोको सत्यतथ्य अनुसन्धानबाटै बाहिर आउने बताए। प्रहरी हिरासतमा रहेका फिक्सर इनम सापकोटाको नामसँग जोडेर सार्वजनिक भएको अडियोबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।
‘त्यो अडियो कहाँ बोलेको, कसले बोलेको, किन बोलेको र कहिले बोलेको भन्ने मलाई थाहा छैन। बोलेको हो कि बोलाइएको हो, त्यो पनि थाहा छैन,’ उनले भने।
थापाले अडियोमा आफ्नो नाम जोडिएकै आधारमा आफूले सार्वजनिक रूपमा स्पष्टीकरण दिइरहनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै अनुसन्धान गर्नुपर्ने निकायले सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्नुपर्ने बताए। निष्पक्ष अनुसन्धान भए सत्यतथ्य स्पष्ट हुने उनको विश्वास छ।
‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन,’ उनले स्पष्ट पारे।
पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको बताए।
उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीको तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहको संज्ञा दिए। भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तन आवश्यक ठानेर विशेष महाधिवेशनको बाटो रोजिएको उनको भनाइ छ।
यसैबीच, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भएका भेटघाटलाई पनि विवादित अडियो वा पक्राउ प्रकरणसँग जोडेर व्याख्या नगर्न उनले आग्रह गरेका छन्। कांग्रेस सभापतिको हैसियतमा मधेश प्रदेश सरकारको विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको उनले बताए।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, सुकुम्बासी समस्या समाधान तथा प्राकृतिक विपत्तिबाट घरबारविहीन भएका नागरिकको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।
सरकार पाँच वर्षको जनादेशसहित आएको भन्दै त्यसको सम्मान गर्ने तर लोकतान्त्रिक अधिकार र संस्थामाथि हस्तक्षेप भए चुप लागेर नबस्ने उनको चेतावनी छ।
‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने र हाम्रा संस्थालाई कमजोर बनाउने काम हुँदा हामी मूकदर्शक भएर बस्दैनौँ। बोल्छौँ, प्रश्न गर्छौं र आवश्यक परे प्रतिवाद गर्छौं,’ उनले भने।
आफूमाथि पटकपटक प्रायोजित आरोप लगाएर चरित्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गर्दै थापाले आफ्नो नैतिकता र इमानदारीमाथि कुनै सम्झौता नगरेको बताए। प्रश्न गर्ने अधिकार कमजोर पारिए लोकतन्त्र नै संकटमा पर्ने उनको भनाइ छ।
‘यत्रो प्रायोजित हल्लाका बीच राइट टु क्वेस्चन मर्नु हुँदैन। प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ,’ उनले भने।


