सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सिरहा,१९ कार्तिक । सिरहाको भलुवाहीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

सिरहा नगरपालिका–११ स्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान करिब १० बजे ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको ना.१ घ. ५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प. ७६५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र ठेगाना नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०:२५ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया भइरहेको छ।
मृतक दुवै जनाको पहिचान खुलाउने तथा आफन्तको खोजी गर्ने कार्यसमेत भइरहेको नेपाल प्रहरीले जनाएको छ।


