६ अर्ब ६७ करोडको विमान खरिद प्रकरणमा पूर्बप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई पक्राउ गर्न ज्ञानेन्द्र शाहीको माग



काठमाडौं,१७ कार्तिक । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ६ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेर चीनबाट खरिद गरिएका विमान प्रकरणमा संलग्न तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई, तत्कालीन पर्यटनमन्त्री तथा नेपाल वायुसेवा निगमका तत्कालीन हाकिमहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्माननीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उक्त प्रकरणमा संलग्न व्यक्तिहरूलाई ढिला नगरी पक्राउ गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, “६ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेर चीनबाट उड्न नसक्ने विमान खरिद गर्ने तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले गृहमन्त्रीज्यूसँग कुममा कुम जोडेर हिँडेको देख्छु।”

शाहीले विमान खरिद प्रकरणमा संलग्न कतिपय व्यक्ति विदेश भागिसकेको दाबी गर्दै ढिलाइ नगरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन्।

उनले लेखेका छन्,-“यसरी अर्बौं रुपैयाँको विमान खरिद प्रकरणमा संलग्न तत्कालीन प्रधानमन्त्री, पर्यटनमन्त्री र नेपाल वायुसेवा निगमका तत्कालीन हाकिमहरूलाई छिटो पक्राउ गर्नुहोस्। कतिपय विदेश भागिसकेका छन् त्यसैले ढिला नगरौँ। दोषीलाई कानुनी कठघरामा उभ्याऔँ!”

प्रतिक्रिया दिनुहोस्