सोलुखुम्बु हेलिकप्टर दुर्घटना : को हुन मृत्यु हुने बिदेशी , को को छन् घाइते ?



काठमाडौं,१७ कात्तिक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी भारतको तमिलनाडु राज्यको चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।
दुर्घटनामा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल तथा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन् ।

घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ । डाइनेस्टी एयरका पाइलट केसीको भने लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

स्रोत : नेपाल प्रहरी।

प्रतिक्रिया दिनुहोस्