‘मुरासु’ चक्रवातका कारण भारतको आन्ध्र प्रदेशमा १ लाख ६० हजार बढी मानिस विस्थापित
काठमाडौँ,१७ कार्तिक । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा शक्तिशाली चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ । सोमबार मध्यराति करिब १ बजे तटीय क्षेत्रमा ठोक्किन सुरु गरेको चक्रवातका कारण तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको नेल्लोर र नरसपुरबीच चक्रवात तटमा प्रवेश गरेको हो । चक्रवातका कारण तटीय क्षेत्रमा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलिरहेको छ । आगामी केही घण्टाभित्र चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरिएको छ ।
चक्रवातको जोखिमलाई मध्यनजर गर्दै ओडिशा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाबाट एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।चक्रवातका कारण हवाई सेवा पनि प्रभावित भएको छ । आन्ध्र प्रदेशका तीन विमानस्थलबाट सञ्चालन हुने १९ वटा उडान रद्द गरिएका छन् भने चेन्नई विमानस्थलबाट ११ वटा उडान स्थगित भएका छन् ।
सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन भारतका पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ० का ३७ टोली परिचालन गरिएको छ । तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन् । आन्ध्र प्रदेशका नेल्लोर, प्रकाशम र मार्कापुरम क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चक्रवातको प्रभाव तमिलनाडुमा समेत देखिएको छ । चेन्नईमा पछिल्लो २४ घण्टामा माधवरम क्षेत्रमा सबैभन्दा बढी ११ सेन्टिमिटर वर्षा मापन गरिएको छ । एन्नोर बन्दरगाह र नुङ्गम्बक्कममा १०–१० सेन्टिमिटर वर्षा भएको छ । जलजमावका कारण सहरका २२ मध्ये दुईवटा भूमिगत सडकमा पानी भरिएको छ ।
त्यस्तै, ओडिशाको पुरी क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ भने समुद्रमा ठूला छाल उठेका छन् । रायगडा जिल्लामा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । एनडीआरएफ, ओडिशा विपद् प्रतिकार्य बल र अग्नि सेवाका ३०० भन्दा बढी उद्धार टोली परिचालन गरिएको छ ।
तमिल भाषामा ‘युद्धको नगरा’ भन्ने अर्थ लाग्ने ‘मुरासु’ नाम भारतले दिएको हो । बंगालको खाडीमा नोभेम्बर १ मा चक्रवातको रूप लिएको यो प्रणाली २४ घण्टाभित्र शक्तिशाली चक्रवाती तूफानमा परिणत भएको थियो ।
एक साताभित्र बंगालको खाडीमा विकसित भएको यो दोस्रो चक्रवात हो । यसअघि अक्टोबर २८ मा आएको चक्रवात ‘अर्नब’ले आन्ध्र प्रदेश र ओडिशामा ठूलो क्षति पुर्याएको थियो । उक्त चक्रवातका कारण दुवै राज्यमा छ जनाको मृत्यु भएको थियो भने ५७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
भारतीय मौसम विभागले चक्रवात ‘मुरासु’को प्रभाव मध्यप्रदेश, छत्तीसगढ, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म देखिन सक्ने अनुमान गरेको छ ।


