व्यक्तिगत आवेग र स्वार्थका कारण विधि तथा कानुनी शासन कमजोर हुन हुँदैन : उपसभापति भण्डारी



फाइल फोटो
काठमाडौं,१७ कार्तिक । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा देखिएका गतिविधिप्रति टिप्पणी गर्दै व्यक्तिगत आवेग र स्वार्थका कारण विधि तथा कानुनी शासन कमजोर हुन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले जोस र पदप्रतिको लोभले विवेक गुम्ने अवस्था आए त्यसलाई कानुनले नियन्त्रण गर्नुपर्ने बताएका हुन् । क्षणिक आवेग र अनियन्त्रित स्वार्थका कारण उत्पन्न हुने गलत निर्णयको असर लामो समयसम्म पुस्तौँले भोग्नुपर्ने उनको भनाइ छ ।

‘जोसले अगाडिको बाटो देख्न छोड्यो, लोभका सामु पदले विवेक गुमायो भने त्यसलाई विधि र कानुनले हस्तक्षेप नगरे भोलिको दुर्घटना रोक्न सकिँदैन,’ भण्डारीले लेखेका छन् ।

सरकारका पछिल्ला निर्णय तथा कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका भण्डारीले सरकारलाई तोकिएको जिम्मेवारीबाट विमुख नभई परिणाममुखी काम गर्न पनि आग्रह गरेका छन् ।

उनले कुनै पनि विषयको छानबिन प्रतिशोध, पूर्वाग्रह वा व्यक्तिगत स्वार्थका आधारमा नभई सत्यतथ्य उजागर गर्ने, न्याय स्थापित गर्ने र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले हुनुपर्नेमा जोड दिएका छन् ।

‘छानबिन गर ! प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जवाफदेहिताका लागि हो । हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ,’ उनले उल्लेख गरेका छन् ।

बिचौलियासमेत राज्यको नियमन र नियन्त्रणभित्र रहनुपर्ने धारणा राख्दै भण्डारीले सरकारलाई आफूलाई दिइएको जिम्मेवारी पूरा गरी परिणाम देखाउन र मूल विषयबाट ध्यान अन्यत्र मोड्ने प्रवृत्ति त्याग्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्