विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने रास्वपाको संकेत
काठमाडौं,१४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृतिहरू समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले न्यायाधीशहरूको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएको विषय र अन्य विकृति समाधानका लागि संसदीय दललाई निर्देशन दिएर संसदबाटै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले विवादमा परेका न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने संकेत गरेको छ। तर, महाअभियोगबारे सोधिएको प्रश्नमा खरेलले उक्त विषय संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्र स्पष्ट हुने जानकारी दिए।
त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोली छिट्टै चीन भ्रमणमा जाने पनि उनले बताए।


