नेकपाको राष्ट्रिय जागरण अभियान आजबाट सुरु हुँदै



काठमाडौं,७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

सरकारको कार्यशैलीलाई लिएर विरोध जनाउँदै आएको नेकपालेपार्टी को केन्द्रीय संयोजन समितिको असोज २३ गते बसेको बैठकले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यहीअनुसार नेकपाले आजदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्न लागेको हो।

पार्टीले अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन आज आयोजना गर्दै छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो २ः३० बजे हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने छन्।अभियानअन्तर्गत प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाइने पार्टीले जनाएको छ।

त्यस्तै, देशका विभिन्न स्थानमा जनभेला, अन्तरक्रिया, पत्रकार सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनजीविकाका समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्नुका साथै जनसेवा तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्