बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज,मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम जारी
काठमाडौँ,७ कार्तिक । बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।

नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनबीच पुनर्मिलन गराउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा बढाउन मद्दत पुर्याउने विश्वास गरिन्छ।
टीका र आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहलले सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यसैबीच, दसैँ मनाउन सहर तथा सदरमुकामबाट गाउँघर गएकाहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि बढ्दै गएको छ।


