देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं,५ भदौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन्।

काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्सनजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ।
यस्तै, मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८¬–००१ ह ०१०५ नम्बरको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ।
मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ।उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ।


