नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेलाएको आरोपमा पाँचजना पक्राउ
काठमाडौ,४ कार्तिक । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे प्रहरीले क्यासिनोमा छापा मार्दा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकामध्ये चार जना बारा र एक जना रौतहटका रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
नेपालको कानुनी व्यवस्थाअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने कार्यमा प्रतिबन्ध रहेको छ।


