सूर्य ग्रहण सकियो, ग्रहणको समयमा चिसो महसुस हुनुका साथै देशका केही स्थानमा सामान्य बर्षा



काठमाडौं ७ असार । बिहान १० बजेर ५० मिनेट जादा सुरु भएको अखण्ड सूर्य ग्रहण समाप्त भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। उनका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिएको छ । मध्यान्ह १२ बजेर ५ मिनेटमा ग्रहणले सूर्यलाई झण्डै ८८ प्रतिशत ढाकेको देखियो गौतम बताउँछन्।
यस्तै ग्रहण नेपालबाट ४४ वर्षपछि मात्र देखिएको थियो । ग्रहण लागेर सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा केही चिसो महसुस गरिएको थियो । सूर्य ग्रहण सकिए लगत्तै देशका विभिन्न स्थानमा पानी समेत परेको छ । काठमाडौमा पनि पानी परिरहेको छ ।
सूर्यग्रहण अफ्रिकन मुलुक कंगोबाट सुरू भएको बताइएको छ। त्यहाँबाट सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तान, उत्तरपश्‍चिम भारत, भारतको देहरादून, रुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा टुङ्गिएको खगोलविदहरुले बताएका छन । नेपालमा काठमाडौंसहितका नेपाली भूभागबाट पनि यो ग्रहण महसुस गरिएको छ । नेपालमा सबैभन्दा धेरै देशको पश्‍चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट करिब ९८ प्रतिशत ढाकेको देखिएको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतीय अतिक्रमणमा परेको छ। भारतीय अतिक्रमणमा परेको लिम्पियाधुराबाट सूर्यलाई ९८ प्रतिशत ढाकेको देखिएको छ ।
खगोलविदका अनुसार काठमाडौँबाट बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ भएको बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले बताए । खगोलविद जयन्त आचार्यका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुँदा जब चन्द्रमाको छायाँ पृथ्वीमा आइपुग्छ त्यसबेला छायाँभित्र परेका मानिसले सूर्यग्रहण भएको देख्छन्। चन्द्रमाको छायाँ एक हजार किलोमिटर लामो तथा दुई सय ५० किलोमिटर चौडाइको हुन्छ। यही क्षेत्रका मानिसले सूर्यग्रहण देख्ने गर्दछन्।
यस्तो छायाँ सधैँ एकै ठाउँमा देखिँदैन। त्यसैले सूर्यग्रहण कुनै देशबाट देख्‍न सकिन्छ भने कुनै देशबाट देख्‍न सकिँदैन। आज (असार ७ गते आइतबार) लाग्ने सूर्यग्रहण नेपालीका लागि खण्डग्रास सूर्यग्रहण हो भने अफ्रिकाका केही मुलुक, दक्षिण पूर्व युरोपका केही मुलुक तथा एसियाका केही मुलुकका लागि वलय सूर्यग्रहण हो।
अफ्रिकी मुलुक कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, ओमान, यमन, पाकिस्तानको दक्षिणी भाग, उत्तर भारतको देहरादून, चीन तथा ताइवानवासीले यो सूर्यग्रहणको हीराको औँठी जस्तो (जसलाई रिङ अफ फायर भनिन्छ) अलौकिक दृश्य देख्‍न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्