निरन्तर राजनीतिक उचाई चुम्दै कांग्रेस नेता प्रकाशसिंह कार्की
काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले आफ्नो राजनीतिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै कार्कीको राजनीतिक यात्रा नयाँ उचाइमा पुगेको छ।

खुलातर्फका ४५ केन्द्रीय सदस्य पदका लागि महाधिवेशनका क्रममा भएको निर्बाचनबाट कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। खुल्ला तर्फबाट केन्द्रीय सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये बिहिवार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कार्की सहित ४५ जना केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् ।
२०२० सालमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ मा जन्मिएका कार्कीले २०३५ सालमा नेपाल विद्यार्थी संघमार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा क्रमशः नेपाली कांग्रेसको संगठनात्मक गतिविधितर्फ अघि बढ्यो। २०४७ सालमा कांग्रेसको चाक्सीबारी सम्मेलनमा सोलुखुम्बुबाट प्रतिनिधित्व गरेका उनी पछि सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको महासचिव बने। उनले पार्टीको जिल्ला सदस्य रहेर समेत काम गरेका थिए । १५ औं महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्लामा भएको क्षेत्रीय अधिबेशनमा दोश्रो सर्बाधिक बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा भने उनी जिल्लाको प्रदेश क्षेत्र ‘क’ बाट पराजित भएका थिए।एमाले उम्मेदवार उत्तमकुमार बस्नेतसंग निर्वाचनमा पराजय भोगे पनि उनी पार्टीको राजनीति तथा सामाजिक गतिविधिबाट टाढिएनन्। संगठनमा निरन्तर सक्रिय रहँदै आएका कार्की २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट निर्वाचित भएपछि संघीय संसद् प्रतिनिधि सभामा पुगे।
राजनीतिसँगै व्यावसायिक क्षेत्रमा पनि कार्कीको संलग्नता रहँदै आएको छ। उनी कार्गो व्यवसायमा सक्रिय छन्। नेपाल फ्रेट फर्वार्ड एसोसिएसनको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा समेत उनले काम गरिसकेका छन्।
व्यवसाय, सामाजिक सेवा र पार्टी संगठनमा हासिल गरेको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै आएका कार्कीका लागि केन्द्रीय सदस्यमा निर्वाचित हुनु नयाँ जिम्मेवारीसमेत हो। सोलुखुम्बुबाट सुरु भएको उनको राजनीतिक यात्रा विद्यार्थी संगठन, जिल्ला तहको पार्टी गतिविधि, व्यावसायिक नेतृत्व र संसदीय प्रतिनिधित्व हुँदै कांग्रेसको केन्द्रीय नेतृत्वसम्म आइपुगेको छ। यही यात्राले प्रकाशसिंह कार्कीलाई नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा थप परिचित बनाउने आधार तयार गर्नेछ।


