भक्तपुरका विभिन्न शक्तिपीठमा लाग्ने परम्परागत नवरात्रि मेला सुरु



काठमाडौं,२६ असोज । बडादसैँको घटस्थापनासँगै भक्तपुरका विभिन्न शक्तिपीठमा लाग्ने परम्परागत नवरात्रि मेला सुरु भएको छ । घटस्थापनाको रातदेखि सुरु हुने यो मेलामा स्थानीयवासी बाँसुरी, धिमे लगायतका परम्परागत बाजागाजासहित शक्तिपीठ पुगेर पूजा गर्ने र जात्रा मनाउने गर्छन् ।

भक्तपुरको ब्रह्मायणी मन्दिरमा घटस्थापनाको रातदेखि नै दर्शनार्थीको चहलपहल बढेको छ । नौ दिनसम्म नगरका विभिन्न शक्तिपीठमा रातिको समयमा मेला लाग्ने भएकाले स्थानीयवासी टोलटोलबाट बाजागाजासहित मन्दिर पुग्ने गर्छन् ।

संस्कृतिविद् प्रकाशचन्द्र धौभडेलका अनुसार नवरात्रिको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी र नवौँ दिन त्रिपुरासुन्दरीमा मेला लाग्ने परम्परा छ। विजयादशमीका दिन पुनः ब्रह्मायणी मन्दिरमा भव्य मेला लागेसँगै नवरात्रि जात्रा समापन हुन्छ ।

नवरात्रिको नवौँ दिन राति महिषासुर दैत्यको प्रतीकका रूपमा खमेय जात्रा मनाइन्छ । नवदुर्गा मन्दिरमा पूजा गरी मदिरा सेवन गराइएको राँगोलाई दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्‍याएर बलि दिने परम्परा छ। नवमीको रात र विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा हजारौँ दर्शनार्थीको भीड लाग्ने गर्छ ।

विजयादशमीको भोलिपल्ट राति भक्तपुर दरबार क्षेत्रमा तलेजु भवानीको वाहनका रूपमा मानिने सेतो घोडाको पायो जात्रा अर्थात् खड्ग जात्रा निकालिन्छ। स्थानीय भाषामा यसलाई ‘पायो न्ह्याकेगू’ जात्रा पनि भनिन्छ । जात्राका क्रममा नगर परिक्रमा गरिन्छ ।

संस्कृतिविद् धौभडेलका अनुसार दसैँमा मनाइने यी जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित छन्। नवदुर्गाका नौ स्वरूपलाई जीवित हुने परम्पराका रूपमा नवरात्रि जात्रा मनाइने उहाँ बताउनुहुन्छ। दसैँ सुरु भएसँगै यसअघि मृत्युवरण गरेका नवदुर्गा गण पुनः जीवित हुने धार्मिक विश्वास रहेको छ ।

यी जात्रा र परम्पराले असत्यमाथि सत्यको विजयको सन्देश दिने तथा भक्तपुरको मौलिक संस्कृति र धार्मिक आस्थालाई पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्