विराटनगरमा असोज २७ र २८ गते अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै
विराटनगर,२५ असोज । कोशी प्रदेश सरकारको संयोजनमा असोज २७ र २८ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुने भएको छ। सम्मेलनमा सातै प्रदेशका साझा समस्या, संविधानप्रदत्त अधिकारको कार्यान्वयन र संघीय सरकारसँगको समन्वयबारे छलफल हुनेछ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पूरा भएको जानकारी दिए। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुने उनले बताए।
वित्तीय संघीयता, प्राकृतिक स्रोतको बाँडफाँट, अन्तरप्रदेश पूर्वाधार, विपद् व्यवस्थापन, आर्थिक स्रोत परिचालन तथा संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार र जिम्मेवारी स्पष्ट पार्ने विषय सम्मेलनका प्रमुख कार्यसूची रहेका छन्।
प्रदेशहरूबीच सहकार्य विस्तार, कानुनी तथा नीतिगत सुधार, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ।
सम्मेलनबाट प्रदेशहरूका साझा एजेन्डा पहिचान गरी कार्ययोजना र प्रतिबद्धता तय गर्ने तथा अन्तरप्रदेश सहकार्यलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य रहेको मुख्यमन्त्री कार्कीले बताए।


