नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्व अफर ल्याउँदै



काठमाडौं,२४ असोज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ ल्याउने भएको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडान शुल्क मिनाहा गर्नुका साथै मोबाइलमा सहुलियत दरका डाटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका अनुसार नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउनेछन्। प्याकेजसँग बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यो सुविधा असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि भने यसअघि नै एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

४९९ रुपैयाँमा ५ जीबी, ६९९ रुपैयाँमा १० जीबी डाटा

मोबाइल सेवातर्फ टेलिकमले ४९९ रुपैयाँमा पाँच जीबी डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज ल्याएको छ।

यी प्याकेजमा दैनिक तोकिएको डाटा सकिएपछि पनि इन्टरनेट चलाउन सकिने व्यवस्था छ। पाँच जीबीको प्याकेजमा डाटा सकिएपछि बाँकी अवधिमा दुई एमबीपीएस र १० जीबीको प्याकेजमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ।

त्यस्तै, २५० रुपैयाँमा अन्य नेटवर्कमा समेत कल गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ। ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्न मिल्ने एक हजार एसएमएससहितको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि ल्याइएको छ।

यी सबै मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ।

असोज ३० देखि मोबाइल प्याकेज खरिद गर्न सकिने

नेपाल टेलिकमका अनुसार मोबाइल प्याकेज खरिद गर्ने अवधि असोज ३० देखि कात्तिक ३० गतेसम्म रहनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्।

चाडपर्वका बेला आफन्त तथा परिवारसँग सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोग बढाउन सहुलियतका प्याकेज ल्याइएको कम्पनीले जनाएको छ। अफरले ग्राहकलाई इन्टरनेट, कल तथा सन्देश सेवामा खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने टेलिकमको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्