सोलु एमाले नेताहरुको कार्यशैलीप्रति गेलु शेर्पाको प्रश्न, अस्वीकार गरे जिल्ला कमिटी सदस्य पद



सोलुखुम्बु, २३ असोज। नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको सदस्यमा मनोनीत गरिएका गेलु शेर्पाले प्रक्रिया र नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई दिइएको पद अस्वीकार गर्ने घोषणा गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको १२औँ बैठकले २०८३ असोज २० गते तेन्जीङ शेर्पा, सोनाम वाङ्छेन शेर्पा, गेलु शेर्पा र दाछिरी शेर्पालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको थियो। जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले शुक्रबार सामाजिक सञ्जालमार्फत मनोनयनबारे जानकारी दिँदै नवनियुक्त सदस्यहरूलाई बधाई दिएका थिए।

तर, मनोनयनको जानकारी सार्वजनिक भएलगत्तै शेर्पाले सामाजिक सञ्जालमार्फत आफूलाई नसोधी दिइएको पद स्वीकार्य नहुने प्रतिक्रिया व्यक्त गरे । उनले मनोनयन प्रक्रियाप्रति प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका छन् – ‘ ‘यस्तो गोजीको पद चाहिँदैन। म यो अस्वीकार गर्दछु।’

उनले पार्टीमा पद तथा जिम्मेवारी प्रदान गर्दा सम्बन्धित व्यक्तिको सहमति र इच्छालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। उनका अनुसार, आवश्यकताअनुसार व्यक्तिलाई पद दिने र नेताहरूको स्वार्थ पूरा गर्ने माध्यमका रूपमा मनोनयन प्रक्रियाको प्रयोग हुने गरेको छ।

शेर्पाले पार्टी सञ्चालन गर्ने नेतृत्वको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन्। पार्टीको विचार र सिद्धान्त सही भए पनि नेतृत्व तहमा अवसरवाद, नातावाद र कृपावाद हाबी भएको उनको आरोप छ। उनले नेतृत्वमा रहेका केही व्यक्तिको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आफू त्यस्तो कार्यशैली र प्रवृत्तिसँग सहमत हुन नसक्ने धारणा सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन:

यस्तो गोजीको पद चाहिंदैन। म यो अस्वीकार गर्दछु। यस्तो अराजकता/भ्रष्टाचारी रहेको समुहमा म सहभागी नहुने जानकारी गर्दछु। पार्टी सही भएपनि चलाउने ब्यक्तिहरु असक्षम अनि अवसरबादी, नाताबाद,कृपाबादबाट चलेको हुंदा अहिलेलाइ यो पद अस्वीकार गर्दछु।
यसरी सम्बन्धित ब्यक्तिलाइ नसोधी दिने पदहरु तपाइहरुको स्वर्थ र आवश्कता पर्दाको लागि मात्र हो भन्ने मेरो बुझाइ छ र हो। न यो हाम्रो फोटो हो, न हामी। यो AI बाट बनाएको फोटो मलाइ स्वीकार्य छैन।
जो कोही यो भ्रममा नपर्नुहोला।
धन्यवाद।

 

प्रतिक्रिया दिनुहोस्