पेस्तोलबाट गोली चलाएको अभियोगमा तीन जना पक्राउ



रुपन्देही,१८ असोज । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक जना घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज १७ गते दिउँसो साढे ३ बजे देवदह नगरपालिका–५ स्थायी वतन भएका ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद) ले चलाएको पेस्तोलबाट १ राउन्ड गोली फायर भएको थियो। गोली लाग्दा बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। उनको दाहिने गालाको छाला खोसिएर चोट लागेको र देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पेस्तोल र दुई राउन्ड गोलीसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद), ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।

उनीहरूको साथबाट १ थान पेस्तोल र २ राउन्ड गोली बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्