कलाकार केसीको नाम दुरुप्रयोग



काठमाडौं, १२ असोज । कलाकार दिनेश केसीको तस्बिर प्रयोग गरी विभिन्न समयमा नयाँ फेसबुक अकाउन्ट बनाएर उनका आफन्त, साथीभाई तथा चिनजानका व्यक्तिहरूसँग पैसा माग्ने गरिएको भन्दै केसीले दुःख व्यक्त गरेका छन् ।

केसीका अनुसार नक्कली फेसबुक अकाउन्टमार्फत उनका आफन्त तथा साथीभाइलाई सम्पर्क गरी विभिन्न बहाना बनाउँदै पैसा माग्ने गरिएको छ । कतिपय अवस्थामा भिसा सकिएको,भिसा रिन्यु गर्नुपर्ने लगायतका विषय उल्लेख गर्दै रकम माग्ने गरिएको उनको भनाइ छ ।

यस्ता गतिविधि पटक–पटक दोहोरिँदा आफूलाई मानसिक रूपमा समेत निकै दुःखी र हैरान बनाएको कलाकार केसीले बताएका छन् । आफ्नो तस्बिर र परिचय दुरुपयोग गरी अरू व्यक्तिसँग आर्थिक कारोबार गर्न खोजिएको विषयले आफूलाई अत्यन्तै दुःखी बनाएको उनले बताएका छन् ।

यस विषयमा नक्कली अकाउन्ट कसले सञ्चालन गरिरहेको हो भन्नेबारे केसीले साइबर ब्युरोमा समेत जानकारी गराउने तथा आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन् । त्यसपछि घट्नाबारे साइबर ब्युरोबाट आवश्यक अनुसन्धान तथा छानबिन अगाडि बढाईने उनको भनाइछ ।

केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरी अपरिचित अकाउन्टबाट आएको कुनै पनि आर्थिक सहयोगसम्बन्धी आग्रहमा विश्वास नगर्न तथा रकम पठाउनुअघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरी यकिन गर्न आफन्त साथीभाइ र शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्