कलाकारिता र सञ्चार क्षेत्रमा सक्रिय आशा लामो समयदेखि अस्पतालमा, थप उपचारका लागि आर्थिक अभाव
काठमाडौं,६ असोज । नेपाली गीत–संगीत, सञ्चार तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै कलाकार र स्रष्टाको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएकी आशा गौतम अहिले आफैं जीवनको कठिन मोडमा पुगेकी छन्। अचानक हृदयघात भएपछि लामो समयदेखि उपचाररत गौतमको उपचारमा हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको छ। उपचार अझै जारी राख्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ।

बाग्लुङको जैमिनी गाउँपालिका–८ स्थायी घर भएकी गौतम २०८२ साल पौष १४ गते काठमाडौ बानियाटारमा हृदयघातका कारण अचानक बेहोसी अवस्थामा भेटिएपछी स्थानीयको सहयोगमा बासबारी न्युरो अस्पताल भर्ना भएकी थिइन्। अवस्था गम्भीर देखिएपछी न्युरो अस्पताल बासबारीले त्रि वि शिक्षण अस्पताल टिचिङ्ग रिफर गरेको थियो । मस्तिष्कमा रगत जमेका कारण तुरुन्तै टाउकोको अपरेसन गर्नु अनिवार्य भएपछि कलाकार साथीहरू ,उपमा सञ्चार प्रालिका साथीहरू र परिवारजनको प्रयासमा रकम जम्मा गरि टाउकोको गम्भीर अपरेशन गरियो। लामो समयसम्म बेहोस नै रहेपनी एक महिना भन्दा बढी त्रि वि शिक्षण अस्पताल टिचिङ्गमा उपचार गरेपस्चात् स्वास्थ्यमा केही सुधार आएपछि त्रि वि शिक्षण अस्पताल टिचिङ्गबाट फिजियोथेरापीका लागि दिब्य सञ्जीवनी अस्पताल, सितापाइलामा लगिएको थियो। त्यहाँ झन्डै ७ महिना उपचार पश्चात् थप उपचारका लागि हाल उनी होलिस्टिक युनिभर्सल अस्पताल, सुकेधारामा उपचाररत छिन्। हाल स्वास्थमा केही राम्रो सुधार भैरहेको चिकित्सकहरुको दावी छ ।
हालसम्म पनि गौतम राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् भने दायाँ हात र दायाँ खुट्टा चलाउन नसक्ने अवस्थामा रहेको बताइएको छ। स्वास्थ्यमा सुधार ल्याउन अझै लामो समय उपचार तथा फिजियोथेरापी आवश्यक पर्ने भएकाले उपचार खर्च थप बढ्ने अवस्था रहेको छ।
उपचारमा हालसम्म लागेको करिब ६० लाख रुपैयाँमध्ये अधिकांश रकम सहयोगी दाता तथा शुभेच्छुकबाट जुटाइएको जनाइएको छ। तर निरन्तर उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि गौतमको परिवार आर्थिक संकटमा परेको छ।
कलाकारको हितमा निरन्तर सक्रिय आशा
गौतम केवल कलाकारका रूपमा मात्र नभई सञ्चारकर्मी, आयोजक तथा समाजसेवीका रूपमा समेत लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। उनले NDBS नामक सस्था मा काम गर्नुका साथै गल्कोट पत्र साप्ताहिक, धौलागिरी गर्जन साप्ताहिक तथा धौलागिरी सुकेरा मासिकमा रिपोर्टरका रूपमा समेत जिम्मेवारी निर्वाह गरेकी थिइन्।
त्यस्तै, उनी जनसांस्कृतिक महासंघको जिल्ला कार्यसमिति सदस्य, प्रदेश सदस्य हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा रहेकी थिइन्।गैरसरकारी सस्था महासङ्घ पर्वत शाखा महिला ससस्यको जिम्मेवारीमा रहि काम गर्दै आएकी थिईन्।
संगीतकर्मी संघ पर्वत जिल्ला अध्यक्षलगायत विभिन्न संघ–संस्थामा आबद्ध भएर कलाकारको हित तथा सामाजिक क्षेत्रमा योगदान दिँदै आएकी थिईन्।
उदयमान कलाकारलाई प्रोत्साहन गर्ने र अग्रज स्रष्टालाई सम्मान गर्ने उद्देश्यसहित उनको नेतृत्वमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका थिए। उपमा सञ्चार प्रालिको नेतृत्वमा उपमा स्रष्टा सम्मान दुई पटक, मौलिक गण्डकी स्रष्टा सम्मान तथा म्युजिक अवार्ड चार पटक, धौलागिरी स्रष्टा सम्मान, लुम्बिनी स्रष्टा सम्मान तथा म्युजिक लगायतका कार्यक्रम सम्पन्न भएका थिए।
त्यसैगरी तिज विशेष नारी सम्मान–२०८२ समेत सम्पन्न गरिसकेकी गौतम सांस्कृतिक राष्ट्रिय संगीत अवार्ड–२०८२ तथा सुदूरपश्चिम प्रदेशस्तरीय स्रष्टा सम्मान एवं सांस्कृतिक कार्यक्रमको तयारीमा समेत सक्रिय थिइन्। तर कार्यक्रमको तयारीकै क्रममा अचानक हृदयघात भएपछि उनको सम्पूर्ण ध्यान उपचारतर्फ केन्द्रित भएको छ।‘कलाकारका लागि आवाज उठाउने आशालाई अहिले सहयोगी हातको आवश्यकता’ परेको छ ।
वर्षौंदेखि कलाकार तथा स्रष्टाको सम्मान र प्रोत्साहनमा सक्रिय गौतम अहिले आफैं उपचारका लागि सहयोगको प्रतीक्षामा छिन्। लामो समयदेखि अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेकाले देश तथा विदेशमा रहेका कलाकार, स्रष्टा, संघ–संस्था, शुभेच्छुक तथा सहयोगी मनहरूलाई आशा गौतमको मोबाइल नम्बर ९८५६०८१४६३ मा सम्पर्क गरी सक्दो सहयोग गरिदिन परिवार तथा शुभेच्छुकहरूले आग्रह गरेका छन्।


