तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ सम्पन्न, कस्लाई कुन अवार्ड ?



काठमाडौं, २९ भदौ । तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ सम्पन्न भएको छ । ओप्सना फिल्म्सको आयोजनामा आइतबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गायिका तपस्या राईले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गरेकी छन् ।

‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नारासहित आयोजना हुँदै आएको अवार्डको यो तेस्रो संस्करणमा गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न विधाका सर्जक तथा कलाकारलाई सम्मान र अवार्ड प्रदान गरिएको हो ।

आयोजक संस्था ओप्सना फिल्म्सका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पब्लिक च्वाइससहित विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरियो । त्यस्तै वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’ प्रदान गरिएको थियो ।

यसैगरी निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङलाई ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ प्रदान गरिएको थियो । अशोक मुकारुङलाई गायक तथा संगीतकार सम्मान, किशोर झालाई चलचित्रकर्मी सम्मान, पुष्कर सुनुवारलाई गायक सम्मान, चित्र आठपहरियालाई गायक तथा संगीतकार सम्मान, सुनिता कुँवरलाई ट्याटु कलाकार सम्मान, प्रशान्त पाराङदेन लिम्बू, कविता राई, निर्माता श्रीकृष्ण बिष्ट र गायक निमा शेर्पालाई समेत विभिन्न सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

अवार्डतर्फ सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतको अवार्ड ‘यो देशले तिम्रो’ले प्राप्त गरेको छ । सर्वोत्कृष्ट भजन गायकमा मोतिराज खनाल, सर्वोत्कृष्ट गीतकारमा चन्द्र जयपाल राई, सर्वोत्कृष्ट पुरुष मोडेलमा ज्ञानदिप सुवेदी, सर्वोत्कृष्ट लोक गायकमा सोम गुरुङ, सर्वोत्कृष्ट संगीतकारमा सुरेश राई र सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा किशोर सुब्बा पुरस्कृत भए ।

त्यस्तै सर्वोत्कृष्ट आधुनिक गायकमा मेघराज रानोहन्छा, सर्वोत्कृष्ट लोक आधुनिक गायिकामा सुनिता राई, सर्वोत्कृष्ट युगल गायिकामा मेनुका राई, सर्वोत्कृष्ट आधुनिक गीतकारमा कुमार केरुङ, सर्वोत्कृष्ट लिम्बू पालाम गायकमा भीमकुमार तुम्बापो, सर्वोत्कृष्ट भिडियो सम्पादकमा मोहन सुनुवार तथा सर्वोत्कृष्ट लोक पूर्वेली गायिकामा सुमी चाम्लिङ राईले अवार्ड पाए ।

तीज गीत विधामा स्वेता कार्की, लोक युगल निर्देशकमा शिवजी क्षेत्री तथा वर्षका उत्कृष्ट चलचित्र निर्देशकमा हस्तबहादुर लिबाङ (लिम्बू) सम्मानित भए ।

जनमत (पब्लिक च्वाइस) अवार्डतर्फ सर्वोत्कृष्ट युगल गायकमा बबिना किराँती र सुमन राई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतमा टेकबहादुर, सर्वोत्कृष्ट गीतकारमा मीरा देवी राई, सर्वोत्कृष्ट पप गायिकामा सरगम राई, सर्वोत्कृष्ट लोक गायकमा रामचन्द्र चन्द तथा सर्वोत्कृष्ट भिडियो निर्देशकमा कुबेर तामाङले अवार्ड प्राप्त गरे ।

समारोहमा अवार्ड जुरी सदस्यका रूपमा संगीतकार राजु सिंह, संगीतकार तथा संगीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेका थिए ।

कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन् भने अतिथिहरूको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गरेकी थिइन् । समारोहमा वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डी.आर., संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर तथा सञ्चारकर्मी माधवराज खरेल, तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मावि, एसवाई कन्सल्टेन्ट्सलगायतले प्रायोजन गरेका थिए । बुन्चट कलेक्सन र सेवा रेकर्डिङ सपोर्टर रहेका थिए भने डिस होम इन्टरनेट पार्टनरका रूपमा रहेको थियो । रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्