जेनजी आन्दोलनका थुनुवालाई छोड्न र गोली चलाउन आदेश दिनेलाई कारबाही गर्न रास्वपा सांसद माग
काठमाडौं,२४ भदौ । रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिनेहरूलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जेन-जी आन्दोलन बेथिति, दण्डहीनता र भ्रष्टाचारको विरुद्धमा विद्रोह भएपनि राज्यले दमन गरेको बताए।

उनले भने, ‘जेनजी आन्दोलनमा तत्कालीन ओली सरकारले निर्मम नरसंहार गर्दा भएको २४ गतेको घटना उप्रान्त ओली सरकारको पतनदेखि यो संसद् र सरकारसम्म आइपुग्दा ती युवाहरूले देखेका सपनाहरू कति सम्बोधन भए, अनि कति सम्बोधन हुने क्रममै होलान् ती आफ्नो ठाउँमा छन्। तर दुःखका साथ भन्नुपर्दा, त्यस विद्रोहका धेरै योद्धाहरू आज पनि जेलमै छन् ।’
उनले अझै कति जेनजी युवाहरू मुद्दा खेप्न बाध्य भएको बताए।उनले थपे, ‘गोली खाने र गोली खान तयार हुने दोषी हुने, अनि गोली हान्ने र हान्न लगाउने निर्दोष ठहरिने यो कस्तो न्याय हो ?’
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्न सरकारसँग माग गरेका थिए। “जेजनी विद्रोह जनआन्दोलनका रूपमा घोषणा गरोस् । जेजनी विद्रोहलाई संकल्प प्रस्तावका रूपमा सदनमा प्रस्तुत गरोस्,” उनले भने ।
जेनजीका थुनुवाहरूलाई छोड्नुपर्ने माग राखे । कोही सदनमा, कोही सरकारमा त कोही थुनुवामा रहेको भन्दै दुई खालको न्याय किन भन्ने प्रश्न उठिरहेको बताए । उनले जेनजी विद्रोही संस्थागत भएन भन्दै आत्मदाहको प्रयासको घटना नदोहोरियोस् भन्ने कामना गरे ।


