मदन-आश्रित स्मृति प्रतिष्ठानमा युवा सहभागिता बढाउनुपर्नेमा विवेक थपलियाको जोड
काठमाडौं,२३ भदौ । मदन आश्रित स्मृति प्रतिष्ठानका सदस्य विवेक थपलियाले प्रतिष्ठानको गतिविधि तथा नेतृत्व तहमा युवाको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिष्ठानको ३२औँ साधारण सभाबाट सदस्यमा निर्वाचित थपलियाले प्रतिष्ठानको उद्देश्य र विचारलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउन युवालाई जिम्मेवार भूमिका दिन आवश्यक रहेको बताएका हुन्। समयको परिवर्तनसँगै सामाजिक, राजनीतिक तथा वैचारिक क्षेत्रमा युवाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै थपलियाले प्रतिष्ठानले पनि युवा पुस्ताको ऊर्जा, क्षमता र नयाँ सोचलाई समेटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
मदन आश्रितको विचार, योगदान र राजनीतिक आदर्शलाई नयाँ पुस्तामाझ पुर्याउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै उनले प्रतिष्ठानलाई थप गतिशील, प्रभावकारी र समयानुकूल बनाउन युवा सहभागितामा विशेष ध्यान दिनुपर्ने बताए।
थपलियाले आफूले प्रतिष्ठानको उद्देश्य र गतिविधिलाई थप प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले अनुभवी नेतृत्वको मार्गदर्शन र युवा पुस्ताको सक्रिय सहभागिताको संयोजनबाट प्रतिष्ठानलाई अझ सशक्त बनाउन सकिने विश्वास व्यक्त गरे।
प्रतिष्ठानको साधारणसभा शनिबार सम्पन्न भएको थियो ।साधारणसभाले प्रतिष्ठानको अध्यक्षमा एमाले उपाध्यक्ष प्रदीप ज्ञवालीलाई अध्यक्ष चयन गरेको थियो । समितिको उपाध्यक्षमा कृष्णहरि थापा,महासचिवमा मधु तिमिल्सिना,सचिवमा विदुर प्रसाद ढुङ्गाना,कोषाध्यक्षमा सुरेश चापागाई, र सदस्यहरुमा सुरेश प्रसाद निरौला,श्रीकृष्ण चापागाई,सुदर्शन चापागाई,दिब्या कुमारी घिमिरे,मणिराम फुयाल,झुमा देवान नेपाल,नारायण प्रसाद आचार्य,डा.श्री निरोज पौडेल,कृति भट्टराई,विवेक थपलिया चयन भएका थिए ।

