धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गर्ने नाती पक्राउ



म्याग्दी,२२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिति २०८३ भदौ २२ गते अन्दाजी बिहान ११ः३० बजे घिमिरेमाथि उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनापछि बरुवाल फरार भएका थिए।

धारिलो हतियार प्रहार गरी हत्या गरेर आरोपी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा बरुवाललाई बेनी नगरपालिका–२ अन्तर्गत हाडेभिर क्षेत्रमा भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। पक्राउ परेका बरुवालमाथि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्