बाजुराको वीरेखोलामा भीषण बाढी,२३ परिवार विस्थापित



बाजुरा,२० भदौ । वीरेखोलामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । गएरातिदेखि अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।

वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताए । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उनले भने ।

बाढीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् । थप १८ परिवारसमेत जोखिममा रहेको साउदले बताए । बाढीले धानबाली बगाएपछि खेत बगरमा परिणत भएको छ । बाढीबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बडुवालले बताए ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले बाढी प्रभावित परिवारलाई तत्काल त्रिपाल उपलब्ध गराएको छ । रेडक्रस बाजुरा शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्