कृष्णभीरमा खुल्यो डाइभर्सन ट्र्याक,सवारीसाधन सञ्चालनमा आउन अझै एक साता लाग्ने
काठमाडौं, २० भदौ । सडक भासिएको ७ दिनपछि कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको छ ।भासिएको खण्डको २ सय ५२ मिटर ट्र्याक खोलिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

ट्र्याक खोल्ने काम भने पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो । छिटो ट्र्याक खोल्न विभागले सोसाइटीसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेर काम अघि बढाएको थियो । डाइभर्सन ट्र्याक खोलिए पनि सवारीसाधन सञ्चालनमा आउन भने अझै एक साता लाग्ने महानिर्देशक जैसीले बताए ।
जटिल भूगोल भए पनि अन्तिम विकल्पका रुपमा भासिएको सडकभन्दा माथि भित्तो काटेर ट्र्याक बनाउने काम भएको जियो टेक्निकल इन्जिनियर राजन केसीले बताए । ‘सडक भासिएदेखि नै हामी यही छौं, यो २५/२६ वर्षअघि पहिरो आइरहेको खण्ड हो,’ उनले भने, ‘खोलापट्टिबाट काम गर्न सक्ने अवस्था थिएन, फेरि बाढी आउने जोखिम भएकाले भित्तो नै काटेर ट्र्याक खोलिएको हो ।’
१० भदौमा भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गर्दा भासिएको थियो । त्यसयता राजधानीको ‘लाइफलाइन’ रुपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड ठप्प बनेको हो । राजधानीमा नियमित रुपमा दैनिक उपभोग्य बस्तु भित्रन सकेको छैन ।
उक्त सडक खण्ड विश्व बैंकको सहुलियत पूर्ण ऋणमा यसको स्तरोन्नतीको काम भइरहेको थियो । यस खण्ड भएर गुड्ने सवारीसाधनलाई अहिले कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको विभागका महानिर्देशक जैसीले बताए ।
तत्काल यस खण्डमा कालोपत्र नगरी ग्राभेल मात्र गरिने उनले सुनाए । ‘जटिल भूगोल छ, यसमा सडक विभागले जोखिमै लिएर काम गरेको हो,’ उनले भने, ‘यसको विकल्प नै भएन, अहिले खोलातिर कुनै काम गर्दैनौं, भित्तैतिर जोड दिएर काम गर्छौं, अहिले भासिएको सडकभन्दा १५ मिटर भित्तातर्फ गएपछि मात्र नयाँ ट्र्याकमार्फत सडक सुरु हुन्छ ।’

