भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देश नै स्तब्ध र मर्माहत : प्रधानमन्त्री शाह
काठमाडौँ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको र २५० भन्दा बढीको उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिपले सिंगो देश नै स्तब्ध र मर्माहत भएको बताउंदै विपद्को घडीमा सरकार आफ्ना सम्पूर्ण साधनस्रोतका साथ प्रभावित नागरिकको उद्धार,उपचार र राहतमा परिचालित भएको बताएका हुन्।
उनका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले घाइतेको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत जुनसुकै बेला घाइतेको उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरिएको तथा राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकाय, नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट चिकित्सक, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री पठाइएको प्रधानमन्त्रीको भनाइ छ।
आपत्कालीन स्वास्थ्य सेवा,औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र,बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायतका संस्थासँग समन्वय भइरहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड,धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।
ती क्षेत्रका पीडित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याइने उनले बताएका छन्। साथै, बाढीमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्र बनाउँदै घाइतेको पूर्ण विवरण तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने उनले बताएका छन्।
प्रधानमन्त्री शाहले बाढीबाट भत्किएका सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
‘यो कठिन घडीमा प्रभावित नागरिकहरू एक्लो छैनन्’ भन्दै प्रधानमन्त्री शाहले उद्धार,उपचार,खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने बताएका छन्।
उनले विपद्को समयमा सामाजिक संघसंस्था,उद्योगी–व्यवसायी,युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरेका छन्।बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य रातभर जारी रहने प्रधानमन्त्री शाहले बताएका छन्।

