रसुवा बाढीले तीन सय भन्दा बढी गाडी बगायो,त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति



काठमाडौं, १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् भने अन्य कर्मचारीहरू टिमुरे बजारभन्दा माथिको डाडामा उद्धारको पर्खाइमा छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले अनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका ट्रक तथा अन्य गरी ३०० भन्दा बढी गाडी बाढीले बगाएको छ । त्यति मात्रै नभएर भन्सार क्षेत्रमा भन्सार चेकजाँचको क्रममा रहेका अन्य धेरै गाडी पनि बगाएको छ ।

तर यता अर्थ मन्त्रालयले क्षतिको यकिन विवरण नपाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको छ । प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना सम्पर्कमा आएका छन् ।बाँकी खोज,उद्धार र समन्वय जारी रहेको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ ।

न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्