प्रतिक्षा र ओशिमालाई म्यानमारमा उपाधी, हाउस अफ फेसनद्वारा ‘मिसेस भोग सीजन फोर’को घोषणा



काठमाडौं,७ भदौ । मिसेस भोग नेपाल सीजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’ मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’ को प्रतिष्ठित उपाधि जित्दै नेपाललाई गौरवान्वित बनाएकी छिन् ।

हाउस अफ फेसन नेपालका अनुसार तेस्रो संस्करणको मिसेस भोग नेपाल २०२६ की विजेता ३२ वर्षीया प्रतिक्षाले हालै म्यानमारमा आयोजित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ग्राण्ड फिनालेमा उनले मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’ को सब–टाइटल पनि आफ्नो नाममा पार्न सफल भएकी हुन् ।

प्रतियोगितामा नेपालबाट राष्ट्रिय निर्देशक (नेसनल डाइरेक्टर) का रूपमा सहभागी ओशिमा बानुले पनि ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी छिन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व, समर्पण र योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

आइतवार काठमाडौंमा आयोजिन पत्रकार सम्मेलनमा म्यान्मारमा आयोजित अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सफलता हालिस गरेका थापा तथा बानुले सञ्चारकर्मीसंग आफ्नो सफलताको कथा साझा गरेका छन् । विजेता प्रतिक्षा थापाले आफ्नो कडा मेहन तथा हाउस अफ फेसन नेपालका मेन्टरहरुको कडा प्रशिक्षणले आफूलाई अन्तर्राष्ट्रिय उपाधि जित्न सफल बनाएको धारणा व्यक्त गरिने् । राष्ट्रिय निर्देशकको उपाधि विजेता ओशिमा बानुले पनि प्रतिगको मेहनत तथा आफ्नो संसजको अथक परिश्रमले अन्तर्राष्ट्रियस्तरमा नेपालका गौरव बढाउन सफल भएको बताइन् ।

हाउस अफ फेसन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली महिलाको क्षमता, आत्मविश्वास तथा नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो अभियानलाई यस सफलताले थप बल दिएको जनाएको छ । पत्रकार सम्मेलनमा संस्थाले प्रतिक्षा थापा र ओशिमा बानुको उपलब्धिले नेपालको गौरव बढाएको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका टाइटल स्पोन्सर सगून ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत पियूष सरावगी, मिसेस भोग नेपाल सीजन २ का विजेता डा.सुमी मल्ल, पर्यटनविद् तथा ठमेल पर्यटन विकास परिदका पूर्व उपाध्यक्ष गीता गुरुङ तथा फेसन उद्यमी श्रीजा श्रेष्ठ सहभागि हुँदै हाउस अफ फेसनले आयोजना गरेको मिसेस भोग नेपाल सीजन ३ का विजेता प्रतिक्षा थापाले पाएको उपलब्धिको प्रशंसा गर्दै सीजन ४ मा अझ उत्कृष्ट प्रतियोगिहरुले प्रतिस्पर्धा गर्ने आशा व्यक्त गरे ।

यसैबीच, पत्रकार सम्मेलनकै क्रममा हाउस अफ अफ फेसन नेपालले विवाहित महिलाहरूको आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित मिसेस भोग सीजन ४ घोषणा गरेको छ ।

‘मुकुटभन्दा पर-उपाधिभन्दा ठूलो एउटा यात्रा’ ‘BEYOND THE CROWN- Where a Title Becomes a Journey) भन्ने मूल नारासहित आयोजना हुन लागेको चौथो संस्करणलाई केवल सौन्दर्य तथा ताजको प्रतिस्पर्धाका रूपमा नभई महिलाको व्यक्तिगत रूपान्तरण, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, सञ्चार क्षमता र अन्तर्राष्ट्रिय अवसरसँग जोडिएको यात्राका रूपमा अघि बढाइने आयोजकले जनाएको छ ।

यस संस्करणको विशेष आकर्षणका रूपमा भौतिक अडिसन नहुने व्यवस्था गरिएको छ । नेपालका विभिन्न स्थान तथा नेपालबाहिर रहेका इच्छुक सहभागीले समेत सहज रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले सम्पूर्ण अडिसन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिने छ । आयोजक संस्थाले आइतवार साँझदेखि नै आफ्नो सोसल मिडिया प्लेटफममार्फत आवेदन फाराम खुला गरिसकेको छ ।

मिसेस भोग सीजन फोरमा सहभागी हुन इच्छुक महिलाले आधिकारिक अनलाइन आवेदन फाराम भरेर आफ्नो प्रोफाइल तथा आवश्यक विवरण डिजिटल माध्यमबाट बुझाउन सक्नेछन् । प्राप्त आवेदनमध्ये प्रारम्भिक रूपमा छनोट भएका आवेदकलाई अडिसन प्रक्रियाअघि आवश्यक काउन्सेलिङ तथा मार्गदर्शन प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा हाउस अफ फेसन नेपालकी निर्देशक अ‍ोशिमा बानुले भनिन्– ‘छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले सहभागीहरूको व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति शैली तथा समग्र सम्भावनालाई प्रमुख आधार बनाइने छ ।’

बानुका अनुसार छनोट भएका सहभागीहरूलाई प्रतियोगिताको यात्राका क्रममा विभिन्न व्यावसायिक ग्रुमिङ तथा प्रशिक्षण कार्यक्रममा सहभागी गराइने छ । प्रशिक्षणमार्फत सहभागीहरूको आत्मविश्वास, सञ्चार क्षमता, स्टेज प्रेजेन्स तथा व्यक्तित्व विकासमा विशेष ध्यान दिइने छ ।
त्यसैगरी, सहभागीहरूलाई आफ्नो मौलिक पहिचान पहिल्याउन, आफ्नो क्षमता र प्रतिभालाई अझ सशक्त रूपमा प्रस्तुत गर्न तथा व्यक्तिगत पहिचानलाई व्यावसायिक रूपमा विकास गर्न आवश्यक मार्गदर्शन प्रदान गरिने छ ।

‘BEYOND THE CROWN’ को अवधारणाले महिलालाई केवल प्रतियोगिताको विजेता बनाउनेभन्दा पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासी र सक्षम नेतृत्वकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । महिलाको व्यक्तिगत सफलता र सामाजिक जिम्मेवारीबीचको सम्बन्धलाई जोड दिँदै सहभागीहरूलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गरिने छ ।
मिसेस भोग सीजन फोरका विजेताहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने तथा ग्लोबल एक्सपोजर प्राप्त गर्ने अवसरसमेत पाउने आयोजकले जनाएको छ । यसले नेपाली विवाहित महिलाको प्रतिभा, क्षमता र आत्मविश्वासलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

आगामी जनवरी महिनामा आयोजना हुने ग्राण्ड फिनालका विजेताहरूका लागि नगद पाँच लाख रुपैयाँसम्मका उपहार तथा विभिन्न अवसरहरू उपलब्ध गराइने छ । विजेताले प्राप्त गर्ने अवसरहरूलाई ताज र उपाधिमा मात्र सीमित नराखी व्यक्तिगत तथा व्यावसायिक विकाससँग जोडिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्