लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता
काठमाडौं,२६ साउन । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् ।

देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो करिब २ बजे नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको स्थानीयवासीले बताएका छन् ।
बेपत्ता हुनेमा शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली खोजीमा खटिएको छ । साथै सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोली समेत परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन् ।
बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

