कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुंदै



काठमाडौं,२४ साउन । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

पार्टी सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा आवश्यक पर्ने महत्वपूर्ण निर्णयहरू लिइने बताएका छन्। उनका अनुसार दुई–तीन दिनसम्म जारी रहने यो बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।

पार्टीभित्रको संस्थापन इतर समूहले साउन २९ गतेका लागि राष्ट्रिय भेलाको घोषणा गरेपछि कांग्रेसले केन्द्रीय समिति बैठक मार्फत राजनीतिक निकासको पहल गर्न लागेको हो। यसअघि इतर समूहले नेतृत्वबाट पार्टी एकताका लागि ठोस पहल नभए नयाँ दल घोषणासम्म हुन सक्ने चेतावनी दिँदै आएका थिए। तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्दै विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्ने आदेश दिएसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना भने कमजोर बनेको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार सो आदेश जारी गरेको थियो। यसैबीच, आज बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न शनिबार नै शीर्ष पदाधिकारीहरूको बैठक बसेर आवश्यक तयारी पूरा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्