मक्का अल-मुकर्र शिखर सम्मेलनमा पाकिस्तानसहित तीन देशबीच मक्का संयुक्त रक्षा सम्झौता सम्पन्न
काठमाडौ,२४ साउन । टर्की गणतन्त्रका राष्ट्रपति तैयप एर्दोगान र पाकिस्तानको इस्लामिक गणतन्त्रका प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले साउदी अरब अधिराज्यको भ्रमण गर्नुभएको छ ।

दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजिज अल साउदको निमन्त्रणामा २४ सफर १४४८ हिजरी (७ अगस्ट २०२६) मा भएको भ्रमणका क्रममा वहाँहरुलाई साउदी अरबका युवराज तथा प्रधानमन्त्री महामहिम राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउदले मक्कास्थित अल-सफा दरबारमा स्वागत गर्नुभएको थियो । सोही स्थानमा संयुक्त रक्षासम्बन्धी मक्का अल-मुकर्रमा शिखर सम्मेलन सम्पन्न भएको थियो ।जसमा साउदी अरब अधिराज्य,टर्की गणतन्त्र र पाकिस्तानको इस्लामिक गणतन्त्रबीचको विशिष्ट सम्बन्ध तथा आपसी हितका विभिन्न विषयहरूको समीक्षा गरिएको जनाइएको छ ।
तीन राष्ट्रहरूबीचको लामो ऐतिहासिक सम्बन्ध,उनीहरूलाई जोड्ने भाइचारा र इस्लामिक ऐक्यबद्धताको अटुट बन्धन,तथा साझा रणनीतिक हित र रक्षा क्षेत्रको दीर्घकालीन सहकार्यबाट निर्देशित हुँदै,साउदी अरबका युवराज तथा प्रधानमन्त्री राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलअजिज अल साउद, टर्की गणतन्त्रका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानको इस्लामिक गणतन्त्रका प्रधानमन्त्री मुहम्मद शाहबाज सरिफले’मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गर्नुभयो। यो सम्झौताले सामूहिक सुरक्षालाई अझ सुदृढ पार्ने तथा सुरक्षित र समृद्ध भविष्यको खोजीमा यस क्षेत्र र बाहिर शान्ति, सुरक्षा र स्थिरता प्रवर्द्धन गर्ने तीनै राष्ट्रको साझा प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ ।
यस सम्झौताको उद्देश्य कुनै पनि प्रकारको आक्रामक कार्य विरुद्ध सामूहिक प्रतिरोध क्षमता सुदृढ गर्नु हो। यसमा व्यवस्था गरिए अनुसार, तीन राष्ट्रमध्ये कुनै एकमाथि हुने सशस्त्र आक्रमणलाई ती सबैमाथि भएको आक्रमण मानिनेछ। साथै, यसले तीन राष्ट्रहरूबीच रक्षा सहकार्यका सबै पक्षहरूलाई अभिवृद्धि गर्ने व्यवस्था पनि गरेको छ।

