७ हजार रुपैयाँमा ग्यास बिक्री गरेको आरोपमा दुवाकोटबाट किराना पसल सञ्चालक पक्राउ
भक्तपुर,२३ साउन । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना पसल सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्। उनले सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले उपभोक्तालाई खाना पकाउने ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरिरहेको विशेष सूचना प्राप्त भएको थियो।सूचनाका आधारमा प्रहरी टोलीले उनको पसलमा चेकजाँच तथा अनुगमन गर्दा बिक्रीका लागि राखिएका तीन थान ग्यास सिलिन्डर फेला पारेको थियो।
बजार मूल्यभन्दा अत्यधिक महँगोमा ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा त्वयनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीका अनुसार पक्राउ परेका त्वयनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

