लुम्बिनी प्रदेश : कांग्रेसका पाँचै मन्त्रीले दिए सामूहिक राजीनामा



काठमाडौं, १० साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले संसदीय दलमा सामूहिक राजीनामा बुझाएका छन् ।

प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफूहरूले दलका नेतालाई राजीनामा पठाएको पुष्टि गरेका छन् ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।

कांग्रेस संसदीय दलले अब मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्