कांग्रेसको आधिकारिकता सम्बन्धि फैसला पुनरावलोकनका लागि सर्बोच्चमा देउवा पक्षको निवेदन



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवापक्षले सर्वोच्च अदालतले निवेदन दिएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको समिति वैद्य भएको ठहर गरेको थियो । अदालतको उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै देउवा समूहले पुनरावलोकनका लागि निवेदन दिएको हो ।

बिहीबार निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । उनले अब तीन जना न्यायाधीशहरूले बसेर यो मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने जानकारी दिए ।

तीन जना न्यायाधीशले पुनरावलोकन गर्न अनुमति दिए यो मुद्दा फेरि प्रक्रियामा जाने अन्यथा अगाडि नबढ्ने उनले जानकारी दिए । विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो भने सर्वोच्चले पनि उक्त निर्णय वैद्य भएको ठहर गरेसँगै कांग्रेसको आधारिकता गगन थापा समूहले पाएको थियो ।

देउवा–खड्कापक्षले थापालाई सभापति स्वीकार गरिसकेका छैनन् । दुवै समूहले एकताका लागि वार्ता गरे पनि ठोस सहमति जुट्न नसक्दा पार्टी विभाजनतर्फ गएको छ । हाल देशबाहिर रहेका देउवाले आफू छिट्टै स्वदेश फर्किन लागेको सन्देश जारी गरेसँगै अदालतमा पुनरावलोकन निवेदन परेको हो ।

प्रतिक्रिया दिनुहोस्