एक रुपैयाँको सिक्काको डिजाइन परिमार्जन गर्न राष्ट्र बैंकलाई मन्त्रिपरिषद् बैठकको निर्देशन



काठमाडौं,५ असार । नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा मुस्ताङस्थित ऐतिहासिक घार [लो घ्याकर ] गुम्बा को तस्वीर समावेश गर्ने गरी तयार पारेको नयाँ डिजाइन मन्त्रिपरिषद्ले परिमार्जनका लागि फिर्ता पठाएको छ। सरकारले गुम्बाको तस्वीर राख्न सहमति जनाए पनि नेपालको नक्सा हटाएर नयाँ डिजाइन ल्याउन नहुने स्पष्ट गर्दै नक्सासहित पुनः प्रस्ताव पेश गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले सिक्कामा नेपालको प्राचीन बौद्ध सम्पदाको प्रतिनिधित्व गराउने उद्देश्यले घार गुम्बाको तस्वीर राख्ने योजना बनाएको थियो। नोट तथा सिक्का डिजाइन समितिबाट तयार पारिएको डिजाइन सञ्चालक समितिले अनुमोदन गरेपछि अर्थ मन्त्रालय हुँदै अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो।

तर मन्त्रिपरिषद्ले राष्ट्रिय पहिचानसँग जोडिएको नेपालको नक्सा हटाउनु उपयुक्त नहुने निष्कर्ष निकाल्दै त्यसलाई यथावत् राखेर घार गुम्बालाई समेत समेटिएको नयाँ डिजाइन तयार गर्न निर्देशन दिएको छ। अब राष्ट्र बैंकले सोहीअनुसार डिजाइन संशोधन गरेर पुनः स्वीकृतिका लागि पठाउनेछ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार प्रस्तावित परिवर्तन कुनै राजनीतिक उद्देश्यबाट प्रेरित थिएन। नेपाली नोट तथा सिक्कामा पशुपतिनाथ, जानकी मन्दिरलगायतका सम्पदा समेटिए पनि बौद्ध सम्पदाको पर्याप्त प्रतिनिधित्व नभएकाले नेपालको सबैभन्दा पुरानो बौद्ध गुम्बा मानिने घार गुम्बालाई स्थान दिने सोच अघि सारिएको हो। यसले मुस्ताङको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालको कानुनी व्यवस्थाअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन लागू गर्नुअघि राष्ट्र बैंकको डिजाइन समिति, सञ्चालक समिति, अर्थ मन्त्रालय र अन्तिम रूपमा मन्त्रिपरिषद्को स्वीकृति आवश्यक हुन्छ। त्यसैले मन्त्रिपरिषद्को निर्देशनअनुसार संशोधित डिजाइन तयार भएपछि मात्र नयाँ एक रुपैयाँको सिक्का जारी गर्ने प्रक्रिया अघि बढ्नेछ।

यस विषयलाई लिएर सार्वजनिक रूपमा विभिन्न अड्कलबाजी भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा हटाउने कुनै राजनीतिक योजना नरहेको स्पष्ट पारेका छन्।

नेपालले २०७७ सालमा संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सालाई राष्ट्रिय निशान छापमा समावेश गरेको थियो। त्यसपछि जारी भएका एक र दुई रुपैयाँका सिक्का तथा एक सय रुपैयाँको नोटमा यही नक्सा प्रयोग हुँदै आएको छ। यही पृष्ठभूमिमा एक रुपैयाँको सिक्काबाट नक्सा हटाउने प्रस्ताव सार्वजनिक भएपछि यसले व्यापक चासो र बहस उत्पन्न गरेको हो।

प्रतिक्रिया दिनुहोस्