प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते
काठमाडौं,५ साउन । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
मंगलबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गरिएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

