डेङ्गु सचेतना अभियानका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने



काठमाडौं,१ साउन । आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियानअन्तर्गत सबै सार्वजनिक निकाय,कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल तथा बासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ देखि देशव्यापी रुपमा ‘साउन, भदौ र असोज महिनाः डेङ्गु सचेतना तीनमहिने अभियान’ सञ्चालन हुँदै आएको छ । साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल तथा बासस्थान खोजी तथा नष्ट अभियान’ सञ्चालन गरिनेछ ।

प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कशप÷ग्यारेज, कबाडी समान व्यवस्थापन स्थल, निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको नियमित अनुमगन गर्ने र जमेको पानीको निकास तथा व्यवस्थापन गर्नुपर्नेछ ।

डेङ्गुसम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्थामार्फत ‘साथी शिक्षा कार्यक्रम’ र ‘विद्यालय सरसफाइ अभियान’ सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाइको अवस्था अनुगमन गरिनेछ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले साउनदेखि डेङ्गुको सङ्क्रमण विस्तारै बढ्दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज÷कात्तिकसम्म यसको जोखिम रहने भएकाले यी तीन महिनामा डेङ्गु सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए ।

डेङ्गुको बढी जोखिम हुने होटल, ग्यारेज, कबाडी व्यवस्थापन गर्ने स्थान, विद्यालय, सरकारी कार्यालयलगायत सार्वजनिकस्थललाई ‘फोकस’ गरेर सरसफाइ अभियान सञ्चालन हुने उनले जानकारी दिए । “नागरिक तहसम्म सूचना सम्प्रेषण गर्नसके डेङ्गुलाई नियन्त्रण गर्न सकिन्छ, हामी आफैँले घरबाटै प्रयास गर्न गर्यौं भने सङ्क्रमण कम गर्न सकिन्छ भन्ने अभिप्रायका साथ अभियान सञ्चालन भएको हो”, डा दाहालले भने ।

नेपालमा सन् २०२२ मा डेङ्गु सङ्क्रमितको सङ्ख्या ५६ हजार थियो । सन् २०२३ मा ५२ हजार, सन् २०२४ मा ४६ हजार र सन् २०२५ मा यो सङ्ख्या घटेर आठ हजारमा सीमित भएको महाशाखाले जनाएको छ । “सुरुमा डेङ्गुको सङ्क्रमण धेरै नै रह्यो । तर, सूचनाको सम्प्रेषण, नागरिक तहमा सचेतनालगायत सबैको प्रयास भए, त्यसले प्रत्येक वर्ष कम हुँदै गइरहेको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्