‘मास्टर्नी’ गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रचारप्रसार तत्काल रोक्न माग
काठमाडौं,१ साउन । प्रियंका कार्की र दुर्गेश थापाको सहकार्यमा रहेको गीत ‘मास्टर्नी’ गीतप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले यसको प्रचारप्रसार तत्काल रोक्न माग गरेको छ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘मास्टर्नी’को प्रवद्र्धनात्मक (प्रमोशनल) सामग्रीका रूपमा मंगलबार सार्वजनिक गरिएको गीतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरून्त बन्द गर्न तथा फिल्ममा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौं।’
गीत सार्वजनिक कार्यक्रममा द्धिअर्थी शब्द प्रयोगबारे सोधिएको प्रश्नमा गायक तथा संगीतकार दुर्गेश थापाले भने गीत कसरी बुझ्ने भन्ने कुरा श्रोताको सोचमा भर पर्ने बताएका थिए। उनले भनेका थिए, ‘डर्टी माइन्डले सुने डर्टी नै सुनिन्छ, राम्रो सोचले सुने राम्रो नै लाग्छ।’
उनले ‘गणित’ भन्दा ‘म्याथ’ शब्द प्रयोग गर्दा आफूलाई बढी रमाइलो लागेको भन्दै त्यही कारणले उक्त शब्द रोजेको पनि बताएका थिए।फिल्म निर्देशक प्रकाश सायमीसहित विभिन्न व्यक्तित्वले पनि गीतको शब्द चयनमाथि प्रश्न उठाएका छन्।
‘मास्टर्नी’ प्रियंका कार्कीले निर्माण गरेको आगामी फिल्म ‘मास्टर्नी’ को प्रमोशनल गीत हो। निर्माण पक्षका अनुसार यो गीत फिल्मभित्र समावेश हुने छैन, तर फिल्मको प्रचारका लागि विशेष रूपमा तयार गरिएको हो।
‘मास्टर्नी’ भदौ ५ गतेदेखि प्रदर्शन हुने तय छ।

