पूर्ब प्रधानमन्त्री देउवालाई अर्को दशा, शौचालयमा लडेर भए घाइते



काठमाडौं,१ साउन । हङकङमा अघोषित निर्वासित जीवन बिताइरहेका काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेर घाइते भएका छन् ।

काँग्रेस उच्च श्रोतका अनुसार देउवा शौचालयमा लडेर घाइते भएका हुन् । उनको एउटा हात भाँचिएको छ । घटना गत साताको हो । देउवा हाल उपचारपछि आराम गरिरहेको ती नेताले बताए ।‘शेरबहादुर दाई’ ट्वाइलेटमा लडेर घाइते भएको भन्ने सुनेको छु’, ती नेताले भने, ‘हात भाँचिएको कुरा आएको छ ।’

देउवा गत २१ फागुनको निर्वाचन हुनुभन्दा एक साताअघि १३ फागुनको राति नियमित उपचारका लागि भन्दै स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवासहित सिंगापुर उडेका थिए ।

जेनजी आन्दोलनकारीले गत २४ भदौमा देउवालाई बुढानीलकण्ठस्थित निवासमा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए । धारिलो हतियार प्रहारबाट उनको गर्धनमा चोटसमेत लागेको थियो । १० कात्तिकमा उपचारका लागि पत्नी आरजुसहित संगापुर गएका देउवा २८ कात्तिकमा उपचार गराएर स्वदेश फर्किएका थिए ।

दोश्रोपटक देउवा सिंगापुर उड्का पत्नीसमेत रहेकी पूर्वमन्त्री आरजु राणा देउवा भारतमा थिइन् । उनी भारतबाट सिंगापुर गइन् ।

आरजु सिंगापुर पुगेको केही दिनपछि चैत पहिलो साता देउवा दम्पती हङकङ गएको हो । उनको सचिवालयले त्यतिबेला थप स्वास्थ्योपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा दम्पती हङकङ गएको जनाएको थियो ।

हङकङबाट नेपाल आउने तयारी गरिरहेका बेला पक्राउ पुर्जी जारी भएपछि देउवा दम्पती उतै रोकिएको हो । जिल्ला अदालत काठमाण्डुले चैत तेश्रो साता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्