थुलुङ दुधकोशी:लक्षित वर्ग कार्यक्रम अन्तर्गत नौमती बाजा वितरण
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ ले लक्षित वर्ग कार्यक्रम अन्तर्गत नौमती बाजा वितरण गरेको छ।
वडाले नेपाली मौलिक कला, संस्कृति तथा परम्परागत बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दलित समुदायलाई नौमती बाजा हस्तान्तरण गरेको हो।

हिजो बिहीबार आयोजित कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले समुदायका प्रतिनिधिहरूलाई नौमती बाजा वितरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले नौमती बाजा नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक सम्पदा र संस्कारसँग जोडिएको मौलिक बाजा भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले परम्परागत कला र संस्कृतिलाई जीवन्त राख्न वडाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको रहस्य खबरलाई जानकारी दिनुभयो।
यसअघि पनि वडा कार्यालयले गत आर्थिक वर्षमा राई समुदायको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले तोसी नृत्यका लागि आवश्यक सामग्री वितरण गरेको थियो। वडाले विभिन्न जातजाति र समुदायका मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षणमा विशेष ध्यान दिँदै आएको जनाएको छ।
स्थानीयवासीले वडाको यस पहलले परम्परागत संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

