लायन्स नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशन शनिबार
काठमाडौ,१५ जेठ । लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपाल च्याप्टरको राष्ट्रिय महाधिधवेशन जेठ १६ गते शनिबार काठमाडौंमा हुँदैछ ।

२ सय १० राष्ट्रमा झन्डै १४ लाख सदस्य रहेको सामाजिक तथा मानवीय सेवा कार्यको लागि विश्वमै सबैभन्दा ठूलो संगठन लायन्सको महाधिवेशनको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन भृकुटीमण्डपको नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित २० जना लायन्स सदस्य सांसदहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सभामुख अर्याल पनि लायन्सको सदस्य हुन् ।
लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा झन्डै ४७ हजार सक्रिय सदस्यहरू रहेका छन् भने २ हजार ४ सय क्लबहरू तथा १५ वटा डिस्ट्रिक्ट रहेका छन् । नेपालमा यो संस्था स्थापना भएको ५५ वर्षको इतिहासमा पहिलोपटक यस वर्ष महिला अध्यक्ष (काउन्सिल चेयर पर्सन) निर्वाचित भई पोखराकी लायन मिलन थापाले समग्र नेपाल लायन्सको नेतृत्व गर्दै आएकी छिन् । उनको कार्यकाल आगामी जुन ३० तारिखमा सकिने र जुलाई १ तारिखदेखि नयाँ लायन्स वर्षको सुरुवात हुने छ । लायन्स मल्टिपलको विधान अनुसार काउन्सिल परिषद्को अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिवको लागि निर्वाचन हुने छ भने अन्य केही पदहरू मनोनित हुनेछन् ।
यस सामाजिक संस्थाले नेपालमा स्वास्थ्य, शिक्षा, वातावरणलगायत विविध क्षेत्रमा नेपालका दुर्गम क्षेत्रसम्म पुगेर मानवीय सेवा पु¥याउने गरेको छ । त्यस्तै सयौं स्थायी परियोजनाहरूसमेत नेपालमा सञ्चालनमा रहेका छन् । भूकम्प, बाढीपहिरोजस्ता दैवी प्रकोपमा समेत नेपालका हजारौँ लायन्स सदस्यहरुले तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउँदै आएका छन् । अन्धोपन निवारण तथा दादुरा रुबेलाको खोप अभियानका लागि समेत लायन्स अन्तर्राष्ट्रियले नेपाल सरकारसँग सहकार्य गरेको छ भने थुप्रै आँखा अस्पताल, मुटु रोगको उपचार केन्द्र, विद्यालय भवनहरू निर्माण कार्यमा पनि लायन्स अन्तर्राष्ट्रियले नेपाललाई योगदान दिने गरेको छ ।
नेपालमा रहेका लायन्स क्लबका सदस्यहरू आफैले पनि स्थानीय रूपमा आर्थिक स्रोत जुटाएर नेपालमा सामाजिक तथा मानवीय सेवाका निमित्त साना तथा ठूला परियोजना तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् । सन् १९१७ मा अमेरिकाको सिकागोबाट सुरु भएको यस लायन्स अन्तर्राष्ट्रियको संगठन नेपालमा भने सन १९७१ मा स्वर्गीय पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको नेतृत्वमा लायन्स क्लब विराटनगरमार्फत सुरुवात भएको थियो । लायन्स अन्तर्राष्ट्रियको यस वर्षको अन्तर्राष्ट्रिय महाधिवेशन यही जुलाई ३ देखि ७ तारिखसम्म हङकङमा आयोजना हुँदैछ ।

