राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेती निर्बाचित
काठमाडौं,१५ जेठ । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरेका थिए भने पौड्यालको पक्षमा २ मत परेको थियो । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको जिम्मेवारीमा थिए । जेठ १३ गते नवनिर्वाचित सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।
नयाँ कार्यसमितिमा सातै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समितिमा कोशीबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, बागमतीबाट परितोष पौड्याल, गण्डकीबाट कमला देवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल, कर्णालीबाट कालीबहादुर महतारा तथा सुदूरपश्चिमबाट मनमोहन विष्ट सञ्चालक रहेका छन् ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ चयन भएकी छन् भने सदस्यहरूमा ममता शाह र युवराज पोखरेल रहेका छन् । संशोधित विनियमावलीअनुसार बैंकको सञ्चालक समितिमा कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । साथै, आगामी दिनमा समितिले थप दुई जना विज्ञ सञ्चालक मनोनयन गर्ने व्यवस्था पनि रहेको जनाइएको छ ।

