पुनर्विचारका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी



काठमाडौँ,२० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेका छन्।

राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन्। शाह नेतृत्वको सरकारले पठाएका ७ वटा अध्यादेश जारी गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको जानकारी गराए।यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो ।

१४ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका ८ अध्यादेश राष्ट्रपति कार्यालयका लागि सिफारिस गरेको थियो ।

यसैबीच,राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्