तीनदिने योग शिबिर सम्पन्न,भुईचम्पा देवी योग साधना केन्द्रको स्थापना
भक्तपुर,१२ चैत । पतञ्जली मध्यपुर ठिमी योग समितिको आयोजनामा मध्यपुर ठिमी वडा नं ९ भुईचम्पा टोलस्थित संस्कार गुरुकुलको प्राङ्गणमा तीनदिने निशुल्क योग शिविर सम्पन्न भएको छ ।
योग र संस्कारका प्रखर वक्ता योग गुरू ललित शंकर योगी र केदार खड्काको मुख्य प्रशिक्षणमा चैत १० गतेदेखि सञ्चालित शिविरमा भक्तपुरवासी हजारौ योगी साधक साधिकाहरुको उपस्थिति रहेको थियो । शिबिरको मध्यपुर ठिमी वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाघको प्रमुख आतिथ्यतामा विहिबार समापन गरिएको छ।

सोही कार्यक्रममा पतञ्जली योग समिति मध्यपुर ठिमी अन्तर्गत २० औं शाखाको रुपमा ‘भुईचम्पा देवी योग साधना केन्द्र’ को समुद्घाटन समेत गरिएको छ । उक्त साधना केन्द्रको संयोजकमा नितु भट्टराई,सहसंयोजक रमा थापा,सचिव निर्मला चौधरी,कोषाध्यक्ष आनन्द शर्मा तथा सदस्यहरुमा मञ्जु भट्टराई,गीता थापा,सौम्यता पोख्रेल,धमेन्द्र शाह र चण्डिका खडका चयन हुनुभएको छ ।
त्यसैगरी ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसमा सुरेश बाबू जमरकट्टेल,राजभाई जयना र अमन हितान रहनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष सानुकाजी राजबाघले योग साधना भनेको मान्छेलाई अनुशासनमा बाँध्ने,स्वस्थ,शान्त र सकारात्मक उर्जा प्रदान गर्ने अभ्यास भएको हुनाले सबैले सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

