कांग्रेस, एमाले र नेकपा पहिलो पटक एउटै बेन्चमा बस्दै
काठमाडौँ,१२ चैत ।नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी संसदीय इतिहासमा पहिलो पटक एउटै बेञ्चमा बस्ने भएका छन् ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेञ्च तय गरिदिएको हो । यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको सभा र त्यसपछिका संसद्हरुमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो ।
यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिका रहनेछन् । एउटै विपक्षी बेञ्चमा तीन दल रहनेछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज मात्र प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
समारोहमा सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराए । सपथका क्रममा तीन दलका सांसदहरु प्रतिपक्षी बेञ्चमा उभिएर सपथ लिए । राजनीतिक दलहरुको सिट सङ्ख्याका आधारमा सङ्घीय संसद् सचिवालयले दलहरूको बस्ने बेञ्चको व्यवस्था गरेको छ ।

