दिलिप स्मृति तेक्वान्दो डोजाङका खेलाडी विशेष प्रशिक्षणमा
काठमाडौं,२ फागुन । चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ (डब्लु टी जी) तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता–२०२६ (डब्लु टी जी) आगामी मंगलबारबाट सुरु हुने भएको छ ।

८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने दिलिप स्मृति तेक्वान्दो डोजाङका तेक्वान्दो खेलाडि यतिबेला विशेष प्रशिक्षणमा छन् । प्रतियोगितामा प्रतिस्पर्धाका लागि छनौट खेलाडिहरुलाई डोजाङका प्रमुख प्रशिक्ष राजेन्द्र खत्रीले नियमित प्रशिक्षण तथा तयारी गराई राख्नुभएको छ । उक्त प्रतियोगितामा दिलिप स्मृति तेक्वान्दो डोजाङका महिला पुरुष गरी सात खेलाडिले प्रतिष्पर्धा गर्दैछन् । सुप्रिका गुरुङ ७४ केजी प्लस र आयुस कार्कीले जुनियर ७३ प्लस तौल समुहमा खेल्ने छन् । यस्तै किरण तामाङ माइनस ५९ केजी, करण ढोली ५५, उमेन्द्र ढोली ५१, समीर पटेल ५१, सिसम श्रेष्ठ ५४ केजी तौल समुहमा प्रतिष्पर्धा गर्ने प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी दिनुभयो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित करिब २० भन्दा बढी देशका १५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने बताइएको छ । यसअघि सन् २०११ र २०१३ मा काठमाडौँमा तथा सन् २०२२ मा पोखरामा यस प्रतियोगिताका अघिल्ला संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विश्व तेक्वान्दो महासंघबाट वरियताको मान्यता प्राप्त ९डब्लु टी जी० प्रतियोगिता भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार र व्यवस्थापन गरिएको आयोजकको भनाइ छ।
हालसम्म नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, हङकङ, चिली, सिंगापुर, मोरक्को, केन्या, जापान, थाइल्याण्ड, पोर्चुगल, अष्ट्रेलिया, इजिप्ट लगायत देशका खेलाडीहरूको नाम दर्ता भइसकेको छ । ग्यरोगी (फाइट) र पुम्से (फर्म) दुवै विधामा क्याडेट (१२–१४ वर्ष) देखि सिनियर (१८ वर्ष माथि) सम्मका उमेर तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कुल ७४ स्वर्ण पदक का लागि खेल हुनेछ। साथै ‘मिसन २६’ अन्तर्गत आगामी एसियाली खेलको तयारीमा रहेका नेपाली राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुने बताइएको छ ।

