सभापति देउवाको अडानले बिभाजनको संघारमा कांग्रेस



काठमाडौं,३० पौष । नेपाली काँग्रेसभित्रको अन्तर संघर्ष अन्ततः बिभाजनमा पुगेर टुंगिने सम्भावना बढेर गएको छ । नेतृत्व चयन प्रक्रिया सारेर भए पनि सहमतिका साथ अगाडि बढ्ने बिशेष महाधिवेशन पक्षधरहरुको सदासयतालाई कांग्रेस सभापति शेरबहादुर देउवाले निरन्तर उपेक्षा गरेपछि कांग्रेस बिभाजन तर्फ धकेलिएको हो।

देउवाले सभापति पद त्यागेर कार्यबाहकको जिम्मेवारी पूर्ण रूपमा पूर्ण बहादुर खडकालाई दिनुपर्ने लगायत माग सम्बोधन गर्न देउवा तयार नभएपछि भृकुटीमण्डपबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने बाध्यतामा बिशेष महाधिवेशन पक्षधरहरु पुगेका छन् । वार्ताबाटै समाधान निकाल्ने प्रयास स्वरुप कार्यतालिका प्रकाशित गरेर पनि बिशेष महाधिवेशन पक्षधरहरुले नेतृत्व चयन प्रक्रियालाई धकेल्दै आएका थिए। तर वार्तामार्फत ठोस कुरा प्राप्त हुन नसकेपछि आजबाट नेतृत्व चयन प्रक्रिया आज सम्पन्न गर्नेगरी उनीहरू लागेका छन् । त्यसका लागि विशेष महाधिवेशनको निर्वाचन समितिले मनोनयन दर्ताका लागि आज बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्मको समय थप गरेको छ ।

विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान संस्थापन पक्ष तयार भएपनि सभापति देउवाले पद छोड्नुपर्ने मागमा संस्थापन पक्ष तयार नभएको बताइएको छ ।

मंगलबार साँझसम्म वार्ता सकारात्मक भएको भन्दै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका आजका लागि सारिएको थियो भने संस्थापन पक्षले बोलाएको केन्द्रीय समितिको बैठक पनि आजका लागि सारिएको थियो ।

वार्तामा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने प्रस्ताव गरेको थियो ।

यी प्रस्तावमा संस्थापन तयार नभएपछि पार्टी संचालन गर्न सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो र त्यो विकल्पलाई पनि संस्थापन पक्षले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्