नेपाल नागरिक पार्टी र नेपाल आवाज पार्टी राप्रपामा समाहित



काठमाडौं,२९ पौष । डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी र डा. सुन्दरसिंह बोहोरा अध्यक्ष रहेको नेपाल आवाज पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएका छन् । मंगलबार (पुस २८) राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वअध्यक्ष कमल थापालगायत नेताले उनीहरूलाई स्वागत गरे ।

मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताएका छन् ।उनले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाए ।

उनले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो असम्भव नरहेको बताए । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको बताए । २०६२—२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गरे । अध्यक्ष लिङदेनले आफू अध्यक्षमा रहँदै राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना भएको हेर्न चाहेको बताए ।

आगामी दिनमा आफू राजतन्त्र पुनःस्थापनाको लागि प्रतिवद्ध रहने बताए । आगामी निर्वाचनमा राप्रपालाई सबैभन्दा ठूलो दल बनाउने गरी निर्वाचनमा लागन आग्रह गरे । मुलुकमा अभिभावकको भुमिकामा राजसंस्था हुुनपर्ने, संघीयता खारेज हुनुपर्ने माग राख्नजेहरु एक हुनुपर्ने बताए ।

उनीहरू राप्रपामा समाहित भएपछि पार्टी अझ सशक्त ढंगले अगाडि बढ्ने थापाले विश्वास व्यक्त गरे । “देश अहिले संकटको भुमरीमा परेको छ । ०६२/०६३ पछि नेपाली जनताको अभिमतबिना नै लादिएको अभिमतले नेपालको राष्ट्रियता कमजोर भएको छ,” उनले भने, “बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपमा बढेर गएको छ ।”

प्रतिक्रिया दिनुहोस्