एनआइसी एशिया बैंक सल्लेरी शाखामा भएको चोरी प्रयासप्रति वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको आपत्ति



काठमाडौं,२९ पौष । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा भएको चोरी प्रयासप्रति वित्तीय कर्मचारी मञ्च, सल्लेरी–सोलुखुम्बुले गम्भीर ध्यानाकर्षण जनाएको छ । मञ्चले उक्त घटनालाई बैंक तथा वित्तीय क्षेत्रको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

मञ्चका अध्यक्ष पुष्पराज श्रेष्ठ र सचिव होमनाथ खत्रीले हस्ताक्षर गरेको  प्रेस विज्ञप्तिअनुसार  पुष २८ गते करिब राति १२ बजेको समयमा एक अज्ञात व्यक्तिले बैंकको ताला तोडफोड गरी भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। उक्त गतिविधि बैंक परिसरमा जडान गरिएको सीसी क्यामेरामा स्पष्ट देखिएको बताइएको छ । चोरी गर्ने मनसायले गरिएको यस प्रयासले बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको मञ्चको ठहर छ ।
 
वित्तीय कर्मचारी मञ्चले बैंक तथा वित्तीय संस्थाहरू मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेका अत्यन्त संवेदनशील संस्था भएको उल्लेख गर्दै, यस्ता संस्थामा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षा, कार्यस्थलको सुरक्षा तथा सम्पत्तिको संरक्षण राज्यको प्राथमिक दायित्व भएको स्पष्ट पारेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा आपराधिक गतिविधि बढ्दै जानु चिन्ताजनक विषय भएको मञ्चले जनाएको छ।
   
मञ्चका अनुसार यस किसिमका घटनाले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूमा त्रास, असुरक्षा र मानसिक दबाब सिर्जना गरेको छ । यस्ता आपराधिक क्रियाकलापले केवल कर्मचारीहरूको सुरक्षामात्र होइन, समग्र सार्वजनिक वित्तीय प्रणालीप्रतिको विश्वासमा समेत आँच पुग्ने खतरा रहेको चेतावनी दिइएको छ।
   
वित्तीय कर्मचारी मञ्च, सल्लेरी–सोलुखुम्बुले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुरक्षा, सम्मान र पेशागत मर्यादा संरक्षणप्रति आफूहरू दृढतापूर्वक प्रतिबद्ध रहेको जनाएको छ। यदि यस्ता घटनाप्रति सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूले समयमै गम्भीर ध्यान नदिएमा, यस्ता आपराधिक घटनाहरू निरन्तर दोहोरिन सक्ने मञ्चको ठहर छ। त्यसैले मञ्चले बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम तत्काल चाल्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्